खार्पुनाथ गाउँपालिकाले ल्यायो ४९ करोडभन्दा बढीको बजेट

हुम्ला । खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४९ करोड रुपियाँभन्दा बढीको बजेट ल्याएको छ। मङ्गलवार भएको १९ औँ गाउँसभाले गाउँपालिकाको उक्त बजेट सर्वसम्मत पारितसमेत गरेको हो।

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ९५ लाख ५७ हजार २८८ रुपियाँको बजेट तथा कार्यक्रम गाउँसभाबाट पारित गरेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए । यसअघि मङ्गलवार नै खार्पुनाथ गाउँपालिकाले आगामी आवका लागि नीति तथा कार्यक्रमसमेत सभामा पेस गरेर पारित गरेको थियो।

विनियोजित बजेटमध्ये पूँजीगततर्फ २१ करोड ९८ लाख रुपियाँ छुट्याइएको छ, जुन कुल बजेटको ४४ प्रतिशत हुन आउँछ। यसैगरी चालुतर्फ २७ करोड ९७ लाख ५७ हजार २८८ रुपियाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ५६ प्रतिशत अंश हो। बजेटको स्रोतका रूपमा सङ्घ, प्रदेश अनुदान र आन्तरिक राजस्वलाई आधार मानिएको अध्यक्ष रावलले जानकारी दिए।

नयाँ बजेटले स्मार्ट गाउँपालिका, रैथाने बाली प्रवर्द्धन र माटोका छानाविहीन घर निर्माण जस्ता नयाँ तथा रूपान्तरणकारी कार्यक्रमहरू समेटेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडाध्यक्ष भरतजङ्ग शाहीले बताउनुभयो। बजेट वक्तव्य गाउँपालिकाका उपाध्यक्ष ज्ञानबहादुर सिंहले प्रस्तुत गरेका थिए ।

यसअघि दुई दिनसम्म सभा आयोजना गर्ने सूचना सार्वजनिक गरिएको भए पनि खार्पुनाथले मङ्गलवार नै दुई पटक कार्यसूची तय गरी गाउँसभाका सम्पूर्ण प्रक्रिया सम्पन्न गरेको छ। गाउँसभामा कार्यपालिका तथा सभाका सदस्यहरूको पूर्ण उपस्थिति थियो।