
सुर्खेत । कालिकोटको पलाँता गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ५० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको बुधबार सम्पन्न १८औँ गाउँसभामा उपाध्यक्ष अलैपुरा हमाल (जैशी) ले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल रु. ४९ करोड ६९ लाख ९३ हजार ९१ रुपैयाँ ८० पैसाको बजेट विनियोजन गरेको छ। चालु आर्थिक वर्षको तुलनामा यस वर्ष गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ।
उपाध्यक्ष हमालका अनुसार संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदान र राजस्व बाँडफाँडमार्फत रु. ४२ करोड ८४ लाख ३४ हजार प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै, कर्णाली प्रदेश सरकारबाट विभिन्न अनुदान र राजस्व बाँडफाँडवापत रु. ६ करोड ६० लाख ५९ हजार ९१ रुपैयाँ ८० पैसा प्राप्त हुनेछ। गाउँपालिकाले आगामी वर्ष आफ्नो आन्तरिक स्रोतबाट रु. २५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।
के छन् बजेटका प्राथमिकता ?
बजेटमा पलाँता गाउँपालिकाले ‘समृद्ध पलाँता’ को नारालाई सार्थक बनाउन उत्पादनमुखी र जनमुखी कार्यक्रमहरू समावेश गरेको जनाएको छ। बजेटका मुख्य प्राथमिकताहरू निम्न छन्:
कृषि उत्पादनमा वृद्धि: स्थानीय स्तरमा खाद्यान्न आत्मनिर्भरता र कृषि आधुनिकीकरण।
शिक्षा र स्वास्थ्यमा सुधार: विद्यालयहरूको गुणस्तर सुधार र नागरिकका लागि स्वास्थ्य सेवाको पहुँच विस्तार।
भौतिक पूर्वाधार: गाउँपालिकाभित्रका सडक सञ्जालको स्तरोन्नति, खानेपानी तथा सरसफाइ आयोजनाहरू।
रोजगार र सशक्तीकरण: युवा तथा महिलाहरूका लागि सीपमूलक तालिम र स्थानीय स्तरमै रोजगारी सिर्जना।गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले सीमित स्रोत र साधनका बाबजुद जनताको भावना र आवश्यकतालाई समेटेर बजेट ल्याइएको दाबी गर्नुभयो। “हामीसँग स्रोत सीमित छन्, तर जनअपेक्षा धेरै छन्,” अध्यक्ष रोकायाले भन्नुभयो, “बजेटको सफल कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज र आम गाउँवासीको सहकार्य आवश्यक छ।”
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलेस बि.क सदस्य सचिव रहनुभएको उक्त गाउँसभामा जनप्रतिनिधिहरूले बजेटले गाउँको विकासमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। गाउँपालिकाले आगामी वर्ष विकास निर्माणका कामलाई तीव्रता दिनुका साथै सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई केन्द्रमा राखेर बजेट कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।




पालिका बहस । १० असार २०८३, बुधबार १६:४७