चन्दननाथ नगरपालिका जुम्ला द्वारा ५९ करोड ४६ लाख ७१ हजार ४२७ बराबरको बजेट प्रस्तुत

सुर्खेत ।  जुम्लाको चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५९ करोड ४६ लाख ७१ हजार ४२७ रुपैयाँ ४० पैंसा बजेट प्रस्तुत गरेको छ । बुधबार नगरपालिकाको प्राङ्गणमा आयोजित १६ औँ नगरसभामा उपप्रमुख रामदेवी खड्काले प्रस्तुत गरेको बजेटले फोहोरमैला व्यवस्थापन, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेको छ ।

नगरपालिकालाई प्रमुख चुनौती बन्दै आएको फोहोर व्यवस्थापन र चोरी डकैती जस्ता गतिविधिहरुको समस्या समाधानका लागि पालिकाको यसपटकको बजेटले सम्बोधन गरेको छ । प्रस्तुत बजेटमा सिसिटिभी जडानका लागि जम्मा रु ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। भने नगर फोहोर व्यवस्थापन तथा सरसफाईमा जम्मा रु. ५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै व्यय तर्फ चालु खर्च कुल जम्मा रु.१७ करोड ६३ लाख ६४ हजार ८ सय २८ रुपैयाँ र पुँजिगत खर्च तर्फ कुल जम्मा रु ९ करोड ७५ लाख ८ हजार ५ सय १९ रुपैयाँ छुट्याइएको छ।

संघीय सशर्त अनुदान तर्फको क्षेत्रगत विवरण अनुसार कुल जम्मा रु २८ करोड २७ लाख र प्रदेश सशर्त अनुदान तर्फको क्षेत्रगत विवरण अनुसार कुल ३ करोड २१ लाख ९८ हजार बजेट विनियोजन गरिएको छ।

नगर प्रमुख राजु सिंह कठायत द्वारा प्रस्तुत नीति तथा कार्यक्रममा भौतिक विकास, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, महिला तथा बालबालिका सम्बन्धि नीति तथा कार्यक्रम, स्वास्थ्य नीति, शिक्षा तथा खेलकुद, कृषि विकास शाखा, संस्कृति तथा पर्यटन र सूचना, संचार प्रविधि लगायतका नीतिहरु समावेश गरिएको छ।