गठबन्धनमा सबै पुराना अनुहार

उदयपुर । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उदयपुरमा प्रमुख तीन पार्टीमध्ये नेकपा एमालेले मात्र नयाँ अनुहारलाई मैदानमा उतारेको छ।

दुई प्रतिनिधि सभा र चारवटा प्रदेश सभा सदस्य गरी छजना उम्मेदवार बनाएको एमालेले पाँच नयाँ अनुहार मैदानमा उतारेको हो। एमालेले प्रतिनिधि सभा १ अन्तर्गतको प्रदेश ‘क’ मा नयाँ अनुहारका कुशलबाबु बस्नेत, प्रदेश ‘ख’ मा इश्वरमणि राउतलाई उम्मेदवार बनाएको छ।

पत्रकारिता र राजनीति क्षेत्रमा सँगसँगै होमिएका बस्नेत पार्टी जिल्ला कमिटीका सचिवालय सदस्य र नेपाल पत्रकार महासंघ उदयपुर शाखाका पूर्वअध्यक्ष हुन्। त्यसैगरी राउत पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य र निवर्तमान जिल्ला कमिटी अध्यक्ष हुन्।

त्यसैगरी प्रतिनिधि सभा २ मा नयाँ अनुहार अम्बरबहादुर रायमाझी, त्यसअन्तर्गतको प्रदेश सभा ‘क’ मा देवराज राई, प्रदेश ‘ख’ मा जीवनाथ दाहाललाई उम्मेदवार बनाएको छ। रायमाझी पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य र राई प्रदेश कमिटी सदस्य हुन् भने पत्रकारिता र राजनीति क्षेत्र दुवैलाई अघि बढाएका दाहाल नेपाल पत्रकार महासंघ उदयपुरका पूर्वसदस्य तथा प्रेसचौतारी नेपालका जिल्ला अध्यक्ष हुन्।

एमालेले प्रतिनिधि सभा १ मा पार्टीका पोलिटब्यूरो सदस्य तथा पूर्वसहरी विकास राज्य मन्त्री मन्जुकुमारी चौधरीलाई मैदानमा उतारेको छ। चौधरी २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन्। निर्वाचनमा सत्तारूढ गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एसले पुरानै अनुहारलाई मैदानमा उतारेको छ।

प्रतिनिधि सभा र प्रदेश सभा गरी तीनवटा सिट पाएको कांग्रेसले प्रतिनिधि सभा १ मा केन्द्रिय सदस्य तथा वहालवाला परराष्टमन्त्री डा. नारायण खड्का र सोहीअन्तर्गतको प्रदेश सभा ‘ख’ मा पार्टीका जिल्ला सभापति तथा १ नम्बर प्रदेश सरकारका सडक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्की र प्रतिनिधि सभा २ अन्तर्गतको प्रदेश सभा ‘ख’ मा पूर्व क्षेत्रीय सभापति रामकुमार खत्रीलाई उम्मेदवार बनाएको छ। मन्त्री खड्का तीन पटक लगातार निर्वाचित भइसकेका छन्। खत्री २०७४ का पराजित उम्मेदवार हुन्।

त्यसैगरी नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा १ अन्तर्गतको ‘क’ मा राजन किराँती र प्रतिनिधि सभा २ अन्तर्गतको प्रदेश ‘क’ मा नारायणबहादुर मगरलाई उम्मेदवार बनाएको छ। राई यसअघि दुई पटक पराजित उम्मेदवार हुन् भने मगर २०७४ का निर्वाचित प्रदेश सांसद हुन्।

गठबन्धनकै अर्को एक घटक नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडा प्रतिनिधि सभा २ मा उम्मेदवार भएका छन्। नेकपा एमालेमा रहँदा खतिवडा एक पटक निर्वाचित सांसद भए भने अर्को पटक पराजित भए। निर्वाचनमा राप्रपाले ६ वटै सिटमा नयाँ अनुहारलाई मैदानमा उतारको छ। जसअनुसार प्रतिनिधि सभा १ मा जिल्ला अध्यक्ष धुर्वकुमार रायमाझी, सोही अन्तर्गत प्रदेश ‘क’ मा सुभाषचन्द्र खड्का, प्रदेश ‘ख’ मा ज्ञानबहादुर राईलाई उम्मेदवार बनाएको छ।

त्यसैगरी प्रतिनिधि सभा २ मा वंशीधर न्यौपाने, सोहीअन्तर्गत प्रदेश ‘क’ मा माला तामाङ्ग, प्रदेश सभा ‘ख’मा कर्णबहादुर कार्कीलाई उम्मेदवार बनाएको छ। लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रतिनिधि सभा १ मा नयाँ अनुहारका जिल्ला अध्यक्ष खुशीलाल ठाकुरको मात्र उम्मेदवारी परेको छ।

जनता समाजवादी पार्टीले प्रतिनिधि सभा १ मा पुराना अनुहारका गोपाल राई, सोहीअन्तर्गत प्रदेश ‘क’ मा नयाँ अनुहारका गणेशकुमार राई, प्रदेश ‘ख’ मा विश्वराज राईलाई उम्मेदवार बनाएको छ। त्यसैगरी प्रतिनिधि सभा २ मा यसअघिका पराजित उम्मेदवार सिद्धान्त राई, सोहीअन्तर्गत प्रदेश ‘क’ मा नयाँ अनुहारका केशवबहादुर मगर, प्रदेश सभा ‘ख’मा घनश्याम कटुवाललाई उम्मेदवार बनाएको छ।