मुख्यमन्त्री र बागीबीच टक्कर

भोजपुर । आसन्न संघ तथा प्रदेशसभा सदस्य निर्वाचनमा भोजपुरबाट वर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई र बागी उम्मेदवार उत्तम चापागाईंबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। प्रदेशसभा सदस्य क्षेत्र नं १ का लागि गठबन्धनको उम्मेदवार बनेका नेकपा (एस) का राजेन्द्र र नेपाली कांगे्रसबाट बागी उठेका चापागाईंबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो।

भोजपुर प्रदेशसभा ‘क’ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार राई र बागी स्वतन्त्र उम्मेदवार चापागाईंबीच चुनावी रस्साकस्सी देखिएको छ। नेपाली कांग्रेस तरुण दलका केन्द्रीय उपाध्यक्षसमेत रहेका चापागाईंले गठबन्धनका नाममा पार्टीले आफू र भोजपुरवासी सम्पूर्ण कांग्रेस कार्यकर्ताप्रति अन्याय गरेको भन्दै बागी स्वतन्त्र उम्मेदवारी दिएको जिकिर गरे।

‘मेरो ३२ वर्ष लामो कांग्रेसमा योगदान छ। तर, पार्टीले गठबन्धनको नाममा म लगायत भोजपुरका सम्पूर्ण कांग्रेसी साथीहरूको भावना र सिद्धान्तमा चोट पुर्‍याएको छ। त्यसैले यसपटक स्वतन्त्रबाट उम्मेदवारी दिएको हुँ’, चापागाईंले भने, ‘अब पार्टीले पनि नाम मात्रैको लोकतान्त्रिक नभई चरित्रमा पनि लोकतान्त्रिक प्रदर्शन गरोस्। हाम्रो सिद्धान्त र भावनालाई ठेस नपुर्‍याओस्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटमा गठबन्धनले लोक सेवाको जाँच लिएजस्तो नेताहरू भित्र बसेर जिल्लाको वस्तुस्थिति र कार्यकर्ताको अवस्था नबुझी गरेको निर्णयले आघात पुर्‍याएको छ।’

चापागाईंको उम्मेदवारीप्रति गठबन्धनबाट उम्मेदवार बनेका आफूलाई कुनै असर नगर्ने बताए। चुनाव मिति नजिकिँदै जाँदा गठबन्धनको लक्ष्य, उद्देश्य र सिद्धान्तविपरीत बागी उम्मेदवारी दिएका चापागाईंसँग प्रतिस्पर्धा गरेर जनताको विश्वास जित्ने उनले प्रस्ट्याए। ‘हामी जुनसुकै स्थितिमा पनि चुनाव जित्छौं। स्वतन्त्रबाट बागी बनेका साथीहरूलाई पनि शुभकामना छ र गठबन्धनको मर्यादा र लक्ष्य प्राप्तिका लागि भए पनि हाम्रो जित सुनिश्चित बनाउनेतर्फ हामी उन्मुख भएका छौं’, मुख्यमन्त्री राईले भने।

भोजपुर क्षेत्र नं १ तर्फ गठबन्धनका राई र बागी उम्मेदवार चापागाईं चुनावी होडबाजी चलिरहँदा नेकपा एमालेलाई सहज हुने भएको छ। दुवैको क्षेत्रमा मत विभाजन हुने भएपछि सोही क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार हरिबहादुर राईलाई सहज हुने भएको हो। नेकपा (एस) का राई र बागी उम्मेदवार चापागाईंको मत बाँडिने भएपछि एमालेलाई थप सहज मिलेको एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले बताए। उनले भने, ‘गठबन्धनमा बागी हाल्नु नै हाम्रो लागि बलियो आड मिलेको छ। मत बाँडिने भएकाले पनि हाम्रो मत माथि आउनेमा ढुक्क छौं।’

यसपटक भोजपुरबाट प्रतिनिधिसभातर्फ एमालेबाट पूर्वमुख्यमन्त्री शेरधन राई र गठबन्धनबाट माओवादी केन्द्रका सुदन किरातीबीच चुनावी प्रतिस्पर्धा छ। २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा तत्कालीन बामगठबन्धनबाट शेरधन राई, सुदन राई र राजेन्द्रकुमार राईले चुनाव जितेका थिए।

जसमा प्रतिनिधिसभातर्फ सुदन, प्रदेशसभा १ तर्फ राजेन्द्रकुमार र प्रदेशसभा २ तर्फ शेरधनले विजयी भएका थिए भने यसपटक गठबन्धनबाट एसका राजेन्द्र र माओवादी केन्द्रका सुदनसँग एमाले शेरधन चुनावी प्रतिस्पर्धामा छन्। यस्तै प्रदेशसभा २ तर्फ एमालेबाट खड्गबहादुर कार्की र गठबन्धनका कांग्रेसका विनोद बान्तावा राईबीच प्रतिस्पर्धा हुनेछ।