धनगढी । सुदूरपश्चिममा दुई ठूला पार्टीका प्रमुख नेताहरूबीचको प्रतिस्पर्धा हुने कैलाली क्षेत्र नम्बर ४ निकै चर्चामा छ। प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका प्रदेश सभापति एवं पूर्व मन्त्री वीरबहादुर बलायर र नेकपा एमालेबाट पार्टी सचिवसमेत रहेका सुदूरपश्चिम इन्चार्ज एवं पूर्व मन्त्री लेखराज भट्ट प्रतिस्पर्ध गर्दैछन्।
दुई ‘हेभी वेट’ नेताहरुबीचको प्रतिस्पर्धा निकै रोचक हुने आकलन गरिएको छ। भट्ट तेस्रो पटक संसद् छिर्ने दाउमा छन् भने बलायर यस क्षेत्रका मतदाताका लागि नयाँ अनुहार हुन्। भट्टले दुईपटक यसै क्षेत्रबाट नेकपा माओवादीबाट चुनाव जितिसकेका छन्। बलायर यहाँका लागि पाहुना उम्मेदवार हुन्। डोटीबाट चुनाव लड्न कैलाली झरेका बलायर भट्टको संसद् यात्रालाई रोक्ने दाउमा छन्। दुवै नेता चौंथो पटक चुनाव लड्दै छन्।
भट्टले दुई पटक चुनाव जितिसकेका छन् भने बलायर दोस्रो पटक चुनाव जितेर संसद्को यात्रा तय गर्ने दाउमा छन्। भट्ट ०६४ र ०७४ मा निर्वाचित भएका थिए। ०६४ मा कांग्रेसका दीर्घराज भाटलाई पराजित गरेका भट्टले ०७० मा उनै भाटसँग हार बेहोर्नुपर्यो। ०७४ मा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उनले कांग्रेसका शुनिलकुमार भण्डारीलाई पराजित गरे।
बलायरले ०६४ मा डोटी-१ मा नेकपा एमालेका हर्क बहादुर सिंहसँग चुनाव हारे। ०७० मा एमालेका नारद मलासीलाई पराजित गरेर संसद्को यात्रा तय गरेका उनी ०७४ मा प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र हुँदा बाम गठबन्धनबाट उम्मेदवार बनेका प्रेम आलेसँग पराजित भए।
यस पटक सत्ता गठबन्धन हुँदा डोटी नेकपा एकीकृत समाजवादीको भागमा परेपछि बलायरलाई कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले कैलाली-४ बाट टिकट दिएका छन्। डोटीमा भने आले नै चुनाव लड्दैछन्। नेकपा विभाजन हुँदा माओवादी पार्टी छोडेर एमालेमा लागेका भट्टप्रति उनका पुराना धेरै मतदाताहरु रुष्ट छन्। ‘भट्ट आफू सुरक्षित हुन एमालेमा लागे तर हामी धेरै कार्यकर्ताहरुलाई बिचल्लीमा पारे’, उनका एक जना पुराना समर्थकले भने। लेखराज भट्टले पटक-पटक संसद्मा जाने र दुई पटकसम्म मन्त्री हुँदा पनि आफ्नो क्षेत्रमा देखिने गरी काम नगरेकाले त्यही मुद्दा लिएर जनतामाझ मत माग्न जाने रणनीति कांग्रेसले बनाएको एक नेताले बताए।
पछिल्लो पटक कांग्रेसको माहोल नै राम्रो बनेको र त्यसैमाथि गठबन्धनसमेत भएकाले बलायरको जित निश्चित भएको सो क्षेत्रका नेपाली कांग्रेसका नेता लोकराज पाण्डेले दाबी गरे। भट्ट सधैं सत्ता र शक्तिमा भएर पनि निर्वाचन क्षेत्रमा देखिने गरी काम नगरेकाले उनलाई चुनाव जित्न सजिलो नभएको उनको भनाई छ।
एमाले भने भट्ट जुन पार्टीमा गए पनि जनस्तरमा उनको छुट्टै छाप रहेकाले जित्ने दाबी गरिरहेको छ। ‘हाम्रो संगठन पनि बलियो छ। त्यसैमा भट्ट जनतामाझ लोकप्रिय भएकाले चुनाव जित्न गाह्रो हुँदैन’, एमालेका एक नेताले भने,’गठबन्धन भनेरै सबैले मत दिन्छन् भन्ने हुँदैन, त्यसैले हाम्रो जित निश्चित हो।’
कैलाली-४ डोटेली समुदायको बाहुल्यता भएको क्षेत्र हो। प्रतिनिधि सभामा दुवै उम्मेदवार डोटीकै छन्। प्रदेश सभामा एमालेले ‘क’ बाट भीम देउवा र ‘ख’ बाट हरिसिंह साउँदलाई उम्मेदवार बनाएको छ। देउवा गौरीगंगा नगरपालिकाका पूर्व मेयर हुन् भने साउँद गोदावरी नगरपालिकाका पूर्व मेयर हुन्।
गठबन्धनले ‘क’ बाट प्रदेश मन्त्रीसमेत रहेका एकीकृत समाजवादीका दीर्घ सोडारी तथा ‘ख’ बाट नेपाली कांग्रेसका प्रकाश बमलाई उम्मेदवार बनाएको छ। यहाँ १ लाख ११ हजार मतदाता छन्। यसअघि डोटीबाट चुनाव लडे पनि कैलालीबाटै आफ्नो राजनीति सुरु भएकाले पार्टीले पनि विश्वास गरेर टिकट दिएको नेता बलायरले बताए।
‘मेरो राजनीतिक यात्रा कैलालीबाटै सुरु भएको हो। गठबन्धनले पनि उपयुक्त मानेर कैलाली-४ बाट टिकट दिएको हुनसक्छ’ उनले भने, ‘डोटी छोड्नुको मेरो आफ्नो पीडा हुनसक्छ तर कैलालीमा धेरै आफन्त र आफू अपरिचित पनि नभएकाले प्रतिस्पर्धा गर्न कुनै असहज छैन्।’ उनले पार्टीको निर्णयलाई आत्मसाथ गरेर चुनावी मैदानमा उत्रिएको बताए। एमाले उम्मेदवार भट्टले कैलाली क्षेत्र नम्बर ४ मात्र नभएर समग्र सुदूरपश्चिमको विकासका लागि उम्मेदवारी दिएको बताए।
‘मेरो उम्मेदवारी ४ नम्बर क्षेत्रका लागि मात्र केन्द्रित छैन, समग्र सुदूरपश्चिमको विकासका लागि हो,’ उनले भने,’संविधान जारी भएयता भएका नागरिकका हक अधिकारलाई संस्थागत गर्न नेकपा एमालेको नेतृत्व आवश्यक भएकाले जनताका इच्छा आंकाक्षालाई पुरा गर्न उपयुक्त नेतृत्व चयन अपरिहार्य छ।’ दुवै उम्मेदवारले चुनावी अजेण्डा भने सार्वजनिक गरिसकेका छैनन्।
पालिका बहस । २९ आश्विन २०७९, शनिबार १०:४०