को बन्ला कर्णाली प्रदेशको मुख्यमन्त्री ? 

मुख्यमन्त्रीका लागि कांग्रेसबाट जीवनबहादुर शाही, राजीवविक्रम शाह, माओवादी केन्द्रबाट राजकुमार शर्मा, विन्दमान विष्ट मुख्य दाबेदार छन्। एमालेका यामलाल कँडेल र विनोदकुमार शाह पनि यो दौडमा देखिन्छन्।

सुर्खेत। कर्णाली प्रदेशमा मुख्यमन्त्रीका लागि कांग्रेस र माओवादीका नेताको दौडधुप सुरु भइसकेको छ। प्रदेशमा सत्ता गठबन्धनको स्पष्ट बहुमत आएको छ। तर, केही गरी गठबन्धन भत्कियो भने आफ्नो सरकार बन्ने भन्दै एमाले नेताहरू पनि मुख्यमन्त्रीको दौडमा सामेल छन्।

मुख्यमन्त्रीका लागि कांग्रेसबाट जीवनबहादुर शाही, राजीवविक्रम शाह, माओवादी केन्द्रबाट राजकुमार शर्मा, विन्दमान विष्ट मुख्य दाबेदार छन्। एमालेका यामलाल कँडेल र विनोदकुमार शाह पनि यो दौडमा देखिन्छन्।

कांग्रेसका दाबेदार जीवनबहादुर शाही अहिले पनि कर्णालीको मुख्यमन्त्री छन्। २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनको बहुमत हुँदा प्रदेशसभामा शाहीले मात्रै प्रत्यक्ष जितेका थिए। उनी अहिले हुम्ला निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित भएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेका शाही विगतमा हुम्ला जिल्ला विकास समितिको सभापति, पर्यटनमन्त्री र हुम्लाबाट तीनपटक सांसद भइसकेका छन्। २०७४ साल र २०७० सालमा संविधान सभा सदस्य रहेका शाही फेरि मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशमा उठेका थिए।

उनी अहिले आफूले कर्णालीको विकासका लागि अगाडि सारेको ‘छ’ ब को नीतिलाई कार्यान्वयन गर्न प्रदेशसभामा उठेको बताउँछन्।

शाहीसँगै कांग्रेसका केन्द्रीय सदस्य राविजविक्रम शाहले पनि मुख्यमन्त्रीको दाबी गर्दै प्रदेशसभाको निर्वाचनमा उठेका हुन्। शाहले जाजरकोट प्रदेशसभा (२) बाट उम्मेदवारी दिएर जितेका छन्। शाह २०७० साल र २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट जाजरकोटमा उम्मेदवार बने पनि पराजित भएका थिए।

माओवादी केन्द्रका नेता राजकुमार शर्मा पनि मुख्यमन्त्रीको प्रबल दाबेदार हुन्। माओवादी सङ्गठनमा लामो समय काम गरेका शर्मा २०७४ सालमा रुकुम पश्चिमको जिल्ला समन्वय समितिको प्रमुख बनेका थिए। शर्मा रुकुम पश्चिम प्रदेश सभा (२) बाट विजयी भएका छन्।