सत्ता गठबन्धनको बैठक जारी, जुट्ला सहमति ?

काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरू भएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सुरू भएको बैठकले अन्तिम निष्कर्ष निकाल्ने नेताहरूले बताएका छन् ।

यसअघि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ‘वान् अन वान्’ वार्ता भएको थियो । देउवा-प्रचण्डबीच को पहिलो चरणमा प्रधानमन्त्री बन्ने भन्नेबारे सहमति जुटेको छैन ।

सरकार देउवा, प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले क्रमश: २, २ र १ वर्षको चलाउने भनिएपनि अब तत्कालै गठन हुने सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे सहमति जुटेको छैन ।

आजको बैठकले भने वार कि पार हुने माओवादी केन्द्रका एक पदाधिकारी बताउँछन् । ‘दलहरू आफ्नै अडानमा रहँदा सहमति जुटेन । गठबन्धनमा रहिसकेपछि कम्प्रमाइज त गर्नैपर्छ,’ उलने भने, ‘त्योचाहिँ दलहरूमा देखिँदैन । यसैले अलिक सकस बनाएको हो ।’राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आज ५ बजे घर्किँदैछ । तर, दलहरूबीच सहमति जुटेको छैन ।