बाबुको आत्मदाहपछि ४ सन्तानको बिचल्ली

दैलेख । भैरवी गाउँपालिका–४ की १८ वर्षीया सुनिता बिकले पुस १९ गते झुन्डिएर आत्महत्या गरिन्। गाउँकै गौरी मावि बाँलेकाँडामा कक्षा ७ मा अध्ययनरत बिकको आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। आत्महत्या गरेको पाँच दिनपछि उनका बुवा ४० वर्षीय नरेश बिकले पनि आत्मदाह गरेका छन्।
उनी कात्तिक अन्तिम साता मात्रै रोजगारीको खोजीमा भारत गएका थिए। तर, उनी दुई महिना नबित्दै शनिबार घर आइपुगेका थिए। उनले आफ्नै घरमा आगो लगाएर आत्मदाह गरे। आइतबार बिहान मात्रै घरभित्र जलेको अवस्थामा उनको शव फेला परेको थियो। शनिबार साँझ साढे ७ बजे आफ्नै २ तले ३ कोठा भएको कच्ची घरमा नरेश बिकले आगो लगाएको भन्नेबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए। राति साढे ११ बजे स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा ल्याइयो।
शनिबार साँझ आफ्नै घरमा आगो लगाएर फरार रहेका भनिएका नरेशको जलेको अवस्थामा शव फेला परेको हो। आइतबार बिहान जलेको घरमा अन्य केही क्षति भएको छ की भनेर खोजतलास गर्दा आधा शरीर घरको छानोले पुरिएको र जलेर मृत अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले शनिबार दिउँसो ३ बजे घर आइपुगेका नरेशले पत्नी र छोराछोरीलाई घरबाट लखेटेर साँझ साढे सात बजे आफ्नै घरमा आगो लगाएको स्थानीयले बताएका छन्।
इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगी भन्छन्, ‘गाउँमा छिमेकीहरूसँग बुझ्दा मदिरा सेवन गरेका नरेशले पत्नी र छोराछोरीलाई लखेटेर आफू घरभित्र पसेर घरमा आगो लगाएको खुल्न आएको छ। घरमा आगो लगाउनुअघि उनले घर नजिकै रूखमा राखिएको परालमा आगो लगाएका रहेछन्।’ स्थानीयका अनुसार नरेशको मानसिक अवस्था ठिक नभएको पाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ। आगलागीबाट अन्नपात, लत्ताकपडा, भाडाकुडासहित ३ लाख बराबर क्षति भएको प्रहरी निरीक्षक डाँगीले बताए।
नरेशले आत्मदाहको बाटो रोजेपछि अहिले पत्नीसहित चार सन्तान बिचल्लीमा परेका छन्। पत्नी ४० वर्षीया सोना कामीसहित चार सन्तान बिचल्लीमा परेको स्थानीय कृष्णा सुनारले बताइन्। ‘बस्ने घरमा श्रीमान्ले आगो लगाए, आफूलेसमेत ज्यान फाले, अहिले बस्नलाई घर छैन, घरमा भएको अन्नपात, लत्ताकपडा, भाडाकुडा सबै आगोले सखाप पारेको छ, बालबालिकाहरू बिचल्लीमा परेका छन्,’ सुनारले भनिन्।
छोरीहरू १४ वर्षीया मनिषा, १२ वर्षीया गीता, ९ वर्षीया पार्वती र छोरा पाँच वर्षीय महेश बिकसहित सोना आफन्तको आश्रयमा छन्। मनिषा र गीता कक्षा चार, पार्वती कक्षा २ र महेश कक्षा १ मा अध्ययनरत छन्। भैरवी गाउँपालिका–४ का पूर्ववडाध्यक्ष वीरेन्द्रबहादुर शाहीले बाबुले आफ्नै घरमा आगो लगाएर आत्मदाहको बाटो रोजेपछि बालबालिका बिचल्लीमा परेको बताए।