१० वर्षसम्म पनि पुलको काम नगर्ने ठेकेदारलाई कारबाही


जाजरकोट । ठेक्का लिएको १० वर्षसम्म पनि पुलको काम नगर्ने ठेकेदार कम्पनीलाई सरकारले साढे आठ करोड रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय दैलेखले मध्यपहाडी सडकअन्तर्गत जाजरकोट र रुकुमपश्चिम जोड्ने भेरी नदीमा पुल बनाउने जिम्मा लिएको वाईपी कन्स्ट्रक्सन प्रालिलाई साढे आठ करोड रकम जरिबाना तिराउने भएको हो ।

निर्देशनालयले एक सूचना जारी गर्दै उक्त निर्माण व्यवसायीलाई ठेक्का सम्झौताअनुसार काम नगरेको भन्दै साढे ८ करोड रुपैयाँ दाखिला गराउने जनाएको छ । वाईपी कन्स्ट्रक्सनले रुकुम–जाजरकोट जोड्ने भेरी नदीमा पुल निर्माण गर्ने काम अलपत्र पारेको थियो ।

निर्देशनालयले पटकपटक ताकेता गर्दा पनि निर्माणकार्य गर्न अटेर गरेपछि गत मंसिर २९ गतेको विभागीय निर्णयअनुसार ठेक्का सम्झौता रद्द गरेको थियो । कम्पनीले २०६९ मा नै ठेक्का सम्झौता गरेको थियो । तर १० वर्ष बितिसक्दा पनि निर्माणकार्य भने सम्पन्न गर्न नसकेपछि निर्माण व्यवसायीसँग ठेक्का तोडिएको हो ।

सार्वजनिक खरिद नियमावली २०६३ अनुसार ठेक्का तोडिएपछि निर्माण व्यवसायीबाटै उक्त योजनाको रकम असुल उपर गर्ने व्यवस्था छ । सोही नियमावलीअनुसार उक्त ठेक्काको जम्मा रकम ८ करोड ५७ लाख ९५ हजार ६ सय २६ रुपैयाँ जरिबाना गरिएको निर्देशनालयका डिभिजन प्रमुख इन्जिनियर युवराज पोखरेलले बताए ।