३७ वर्षमा सुनथराली विमानस्थल निर्माण

कालीकोट । वि.सं. २०४२ सालमा निर्माण कार्य सुरु भएको सुनथराली विमानस्थल कालोपत्रेको काम सकिएको छ । निर्माण थालिएको ३७ वर्षपछि विमानस्थलको निर्माण सकिएको हो । सुनथराली विमानस्थल, कोटवाडाका आयोजना प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक इन्जिनियर रत्नवहादुर श्रेष्ठले निकट भविष्यमै विमानस्थलमा हवाईजहाज अवतरण गराउन सकिने बताए ।

इन्जिनियर श्रेष्ठले अहिले कालोपत्रको काम सकिएको र रङ्गरोगनको काम भइरहेकाले माघको तेस्रो हप्ता वा फागुनको पहिलो हप्तासम्म सुनथराली विमानस्थलमा परीक्षण उडानसँगै नियमित उडानका लागि विमान कम्पनीले कार्यतालिका सार्वजनिक गर्ने बताए । रङ्गरोगनको काम सम्पन्न हुने बित्तिकै आफूले नागरिक उड्डयन प्राधिकरणलाई जानकारी दिने र त्यसपछि विमान कम्पनीसँगको सल्लाहमा उडानको मिति तय हुने उनले बताए ।

पानीसँगै हिमपात नभएको भए आजसम्म रङ्गरोगनको काम सकिएर आफूले रिपोर्ट गरिसक्ने भन्दै पानी र हिमपातले केही दिन काममा समस्या परेको इन्जिनियर श्रेष्ठले जानकारी दिए । एक अर्ब भन्दा बढी निर्माण खर्च भएको विमानस्थल कालोपत्रे गर्न भ्याटसहित १४ करोड, ९३ लाख पाँच हजार रुपियाँ खर्च भएको छ । विमानस्थल सञ्चालन उन्मुख हुँदा यहाँका नागरिक निकै उत्साहित भएका छन् । विमानस्थल नजिकै घर भएका अग्रबहादुर विष्टले आपत्कालीन अवस्थामा हवाईजहाज चढ्न पाउने अवसर जुरेको बताए ।

निर्माणस्थलमा २०५८ सालमा कामदारसहित ३२ जनाको तत्कालीन राज्य पक्षले ज्यान लिँदा हतोत्साहित भएका आफूहरू अहिले सुन्दर सुनथराली विमानस्थल उडान भर्ने अवस्थामा पुग्दा दुःख बिसाउन अलि सहज भएको उनको भनाइ छ । विमानस्थलको लम्बाई ६४० मिटर र २० मिटर चौडाइ छ । विमानको टर्निङ प्याप ५०० वर्गमिटरका दुईवटा छन् । यस्तै, ट्याक्सी (वय) रुड २५ मिटर लम्बाई र २० मिटर चौडाइ रहेको छ । विमानको पार्किङ क्षेत्र ७० मिटर लम्बाई र ३० मिटर चौडाइ छ । कोटवाडा विमानस्थलमा दुवै तर्फबाट अवतरण गर्न सक्छ ।