नेपाली कांग्रेसको घोषणापत्र संशोधनसहित पारित

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र पारित गरेको छ। शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको समितिले तयार पारेको घोषणापत्र संशोधनसहित पारित गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले नेपाल लाइभलाई जानकारी दिए।

बैठकमा महामन्त्री शर्माले घोषणापत्रको ड्राफ्ट पढेर सुनाएका थिए भने घोषणापत्र लेखन संयोजन समितिका स्वर्णिम वाग्ले र गोविन्द पोखरेलले घोषणा पत्रको बारेमा व्याख्या गरेका थिए। घोषणापत्रमा कांग्रेसको सरकारले २०४८ सालदेखि गरेका काम र आगामी पाँच वर्षमा कांग्रेसले गर्ने विषयवस्तु समेटिएको जनाएको छ।

घोषणापत्र मस्यौदा समितिका संयोजक डा वाग्लेले स्थानीय चुनावमा आएको घोषणापत्र र संघीय चुनावमा आएको घोषणापत्र भाग एक र भाग २ का बारेमा बुझ्न आग्रह गरेका छन्। उनले गणतन्त्र, सुशासनको राजनीतिका बारेमा टिप्पणी गर्नुका साथै रुपान्तरणकारी योजनामा कांग्रेसको अडानका बारेमा उल्लेख गरेको जानकारी दिए।

वाग्लेले पार्टीको घोषणापत्रमा समनुन्त नेपाल, दिगो विकासका लक्ष्य, लोकतान्त्रिक प्रणालीभित्र सुदृढिकरण र सुशासन, फराकिलो आर्थिक विशेषता समन्यायिक समाज, धार्मिक, भाषिक एकीकृत सुरक्षा कोषको ढाँचाका विषय समेटिएको बताए।

त्यसपछि कार्यसम्पादन समितिमा रहेका नेताहरुले थप सुझाव दिएका थिए। बैठकमा आएका सुझावसहित घोषणापत्र सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ। घोषणापत्र एक हप्ता भित्र सार्वजनिक हुनेछ।