कर्णालीमा २० सांसद नयाँ अनुहार

सुर्खेत । कर्णाली प्रदेश सभाका प्रत्यक्षतर्फका २४ सिटमध्ये चार जना मात्रै पुराना सांसद दोहोरिएका छन्। २० जना नयाँ अनुहार प्रदेश सभामा प्रवेशका लागि जनताबाट अनुमोदित भएका छन् । यसपालि दोहोरिने अनुहारमा कर्णालीका वन तथा वातावरणमन्त्री माओवादीबाट डोल्पा प्रदेश (क)बाट वीरबहादुर शाही, सुर्खेत क्षेत्र नं. २ (ख)बाट माओवादीका विन्दमान विष्ट, सुर्खेत क्षेत्र नं. २ (क)बाट नेकपा (एमाले)का यामलाल कँडेल र हुम्ला (ख)बाट कांग्रेसका जीवनबहादुर शाही निर्वाचित भएका छन् । उनी कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत हुन्।

नयाँ अनुहारमा सुर्खेत क्षेत्र नं. १ (क)बाट नेपाली कांग्रेसका जिल्ला सभापति खड्ग पोखरेल पहिलो पटक प्रदेश सभामा प्रवेश गर्दै छन् । यस्तै क्षेत्र नं. १ (ख)मा माओवादी केन्द्र कर्णाली प्रदेशका उपाध्यक्ष कृष्ण जीसी पनि नयाँ  हुन् । निवर्तमान दुल्लु नगरपालिकाका प्रमुखसमेत रहनुभएका घनश्याम भण्डारी पनि पहिलो पटक प्रदेश सभामा प्रवेश गर्दै छन् ।  दैलेख २ (ख)मा एमाले कर्णालीका अध्यक्ष विनोदकुमार शाह विजयी भएका छन् ।

यस्तै दैलेख क्षेत्र नं. १ (क)बाट कांग्रेसका पूर्णबहादुर खत्री र (ख)बाट कृष्ण बीसी विजयी भएका छन् । सल्यान प्रदेश सभा (क)बाट माओवादीका भीमप्रकाश शर्मा विजयी भएका छन् भने प्रदेशसभा (ख)मा कांग्रेसका सुरेश अधिकारी विजयी भएका छन् । रुकुम पश्चिम  प्रदेश सभा (क)मा माओवादीका महेन्द्र केसी र (ख)मा राजकुमार शर्मा दुबै पहिलो पटक कर्णाली सभामा जाँदैछन् । जाजरकोट प्रदेश सभा (क)मा कांग्रेसका वेदराज सिंह र  प्रदेश (ख)मा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित भएका दुबै नयाँ सांसद हुन् ।

कालिकोट प्रदेश सभा (क)बाट माओवादीका दुर्गबहादुर रावत विजयी र (ख)मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् । डोल्पा प्रदेश सभा (क)मा एमालेका शेरबहादुर बुढा विजयी भएका छन् । हुम्ला प्रदेश सभा (क)बाट माओवादीका रणसिंह परियार, मुगु (क)मा एमालेका जितबहादुर मल्ल विजयी र मुगु (ख)मा माओवादीका मङ्गलबहादुर शाही विजयी भएका छन् । जुम्ला प्रदेश सभा (क)मा कांग्रेसबाट बागी उम्मेदवार देवेन्द्रबहादुर शाही  र जुम्ला (ख)मा एमालेका टेकराज पछाई विजयी भएका छन्।