कर्णालीमा माओवादी–एमाले आधाआधा कार्यकाल बाँड्ने सहमति

माओवादीका शर्मा मुख्यमन्त्री दाबी गर्न जाँदै

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माअ‍ोवादी केन्द्र) र नेकपा एमालेबीच आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

केन्द्रले कर्णाली प्रदेश पाँचै वर्ष माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने सहमति गरेको थियो । तर, एमालेका प्रदेश कमिटीले त्यसलाई अस्वीकार गरेपछि माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले मुख्यमन्त्री दाबी गर्न पाएका थिएनन् ।

प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री दाबी गर्न आजै पाँच बजेसम्मको समय तोकेका छन् । केहीबेरअघि प्रदेशस्तरमै आधा आधा कार्यकाल बाड्ने सहमतिपछि माओवादीका शर्माले केहीबेरमै मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन् ।

कर्णाली प्रदेशसभा ४० सदस्यीय भएकाले मुख्यमन्त्री दाबी गर्न २१ सदस्यको समर्थन आवश्यक हुन्छ । कर्णाली प्रदेशमा माओवादी केन्द्रसँग १३ सिट छ भने नेकपा एमालेसँग १० सिट रहेको छ । यी दुई दलले बहुमत सिद्ध गर्न सक्छन् । त्यसबाहेक प्रदेशसभामा राप्रपाको पनि एक सिट रहेको छ । राप्रपाले एक मन्त्रालय दावीसहित मुख्यमन्त्री समर्थन गर्न लागिएको जनाइएको छ । ‘केन्द्रमा भएको सहमति अनुसार मुख्यमन्त्रीका लागि समर्थन गर्न लागिएको हो ।’ राप्रपा सांसद सन्तोषी शाहीले भनिन्, ‘औपचारिक निकर्ष आउन बाँकी नै छ ।’

नेकपा एकिकृत समाजवादीका तर्फबाट समर्थन गर्ने वा नगर्ने भन्नेबारे छलफल भैरहेको समाजवादी पार्टीका सांसद कल्याणी खड्काले जानकारी दिइन् ।