बन्द भएको ६ वर्षपछि १५ दिनलाई खुल्दै मोरिम्ला नाका

सुर्खेत । चीनको तिब्बतसँग जोडिएको मोरिम्ला नाका ६ वर्षपछि खुल्ने भएको छ । उपल्लो डोल्पाको यो नाका दुई साताका लागिमात्र खुल्न लागेको हो । कोभिड महामारीको समयमा बन्द भएको मोरिम्ला नाका उपल्लो डोल्पाका स्थानीयबासीको भरपर्दो व्यापारिक केन्द्र हो । नाका बन्द भएपछि समस्या भोग्दै आएका स्थानीय खुल्ने खबरले खुसी छन् ।

साउन १७ गतेदेखि नाका खोल्ने गरी काम भइरहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । सीमा पास गर्नका लागि हालसम्म १ हजार ८०० जनाले अनुमति लिइसकेको उनको भनाइ छ । नाका खुल्न करिब दुई हप्ता बाँकी रहे पनि प्रत्येक दिनजस्तो पास लिन सर्वसाधारण आइरहेको प्रजिअ दाहालले बताए । लामो समयपछि नाका खुल्न लागेकाले कुनै समस्या आउन नदिन अस्थायी प्रहरी पोष्ट स्थापना गरेर सुरक्षा जाँचको काम गरिने प्रजिअ दाहालले जानकारी दिए । सुरक्षा व्यवस्था कडा बनाउन थप सुरक्षाकर्मी पठाउने तयारी उनको छ ।

नाका खुलेसँगै धेरै मानिस चिनियाँ सीमा क्षेत्रमा प्रवेश गर्ने भएकाले अवैध तथा प्रतिवन्धित वस्तु छिर्न सक्ने आशंकामा डिभिजन वन कार्यालय डोल्पा र सुरक्षाकर्मीले प्रत्येक व्यक्तिको चेकजाँच गर्ने प्रजिअ दाहालको भनाइ छ । १५ दिनका लागि खुल्न लागेको उक्त नाकाबाट उपल्लो डोल्पाका स्थानीयबासीले आवश्यक खाद्यान्न, कपडा तथा अन्य वस्तुको व्यापार गर्ने बताइएको छ । यसरी खरिद गरिएको सामान घोडा, खच्चड, चौंरी, भेडा र चिनियाँ मोटरसाइकलमा ढुवानी गर्ने गरिन्छ ।

उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङ् गाउँपालिकाका नागरिकलाई सदरमुकाम झरेर सामान खरिद गरी जान–आउन १० दिनभन्दा बढी लाग्ने भएकाले सास्ती हुने गर्छ । डोल्पोबुद्ध गाउँपालिकाबाट चिनियाँ नाका भने एक दिन एक बिहानमै पुग्न सकिन्छ । मोटरसाइकलमा सातदेखि आठ घण्टामै नाका पुग्ने सकिने गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले जानकारी दिए ।

यस वर्ष तिब्बतको सिँगाचे प्रदेशमा पर्ने डोङ्बा काउण्टी नाकामा व्यापारिक मेला लाग्ने भएकाले सामान सस्तो पाइने अध्यक्ष गुरुङले बताए । नेपालमा सात लाखसम्म पर्ने मोटरसाइकल सिँगाचेमा तीन लाख रुपैयाँमै आउने भएपछि उपल्लो डोल्पाका स्थानीयले चिनियाँ मोटरसाइकल खरिद गर्ने गरेको डोल्पोबुद्ध गाउँपालिकाका युवा पेमाछेवाङ गुरुङले बताए । नाका खुल्ने मितिसमेत तोकिएकाले उपल्लो डोल्पामा मानिसको चहलपहल बढेको उनको भनाइ छ । लामो समयपछि खुल्न लागेको नाकामा व्यापारिक मेला हेर्न र किनमेल गर्न पाइने भएपछि सर्वसाधारण खुसी हुनुका साथै जिल्लाका विभिन्न ठाउँबाट मानिसहरु आएको गुरुङले बताए ।

यस वर्ष उपल्लो डोल्पामै पर्ने क्याटो नाका भने नखुल्ने बताइएको छ । अन्य नाका खुलाउने विषयमा पनि छलफल भइरहेको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले जानकारी दिए । ‘अघिल्लो वर्ष खुलाउने प्रयास भए पनि चिसोका कारण नाका खोल्न सम्भव भएको थिएन,’ मन्त्री शाहीले भने । नाका खुल्दा उपल्लो डोल्पाका स्थानीयलाई थुप्रै फाइदा हुने उनले विश्वास व्यक्त गरे । यसबाट १२ वर्षपछि भदौ १६ गतेदेखि २१ गतेसम्म शे फोक्सुण्डो गाउँपालिका–३ स्थित शेल सुम्दो गुम्बामा हुने ६७ औं शेल रिवो डुग्ड्रा (शे) मेलालाई समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

विकास र सहजताका हिसाबले डोल्पा पछाडि रहे पनि पर्यटनको सम्भावनाका आधारमा नेपालकै महत्वपूर्ण गन्तव्य भएको मन्त्री शाहीले बताए । उनले भने, ‘साहसिक पर्यटनको लागि डोल्पा लुकेको भूमि हो । शेल रिवो डुग्ड्रा मेलाले डोल्पाको बहुसांस्कृतिक पक्षलाई थप उजागर गर्ने विश्वास हाम्रो छ । बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक रुपमा विविधता भएकोले डोल्पा जाने पर्यटकले विविध अनुभूति हासिल गर्न सक्छन् ।’ मेलाको अवसरमा करिब १५ हजार अवलोकनकर्ता आउने अपेक्षा आयोजकले गरेका छन् । मेलाको लागि आवश्यक पर्ने खानेपानी, अस्थायी आवास, शौचालय तथा अन्य संरचनाको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।