सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको पत्रकारिताको बिकासका लागि मिडियामैत्री निति अवलम्बन गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका पदाधिकारीहरुसंगको भेटमा मुख्यमन्त्री शर्माले कर्णालीको बिकासका लागि सकारात्मक कार्यको प्रचार प्रसार जरुरी भएको भन्दै त्यसका लागि मिडिया मैत्री निती आवश्यक भएको बताए ।
कर्णालीको समृद्धिको अभियानमा सञ्चारकर्मीहरुको भुमिका महत्वपूर्ण हुने भन्दै सरकारले त्यस्तो निती अवलम्बन गर्ने बचन दिए । ‘कर्णालीका पत्रकारहरुसंगै सहकार्य गरेर सरकार अगाडि बढ्ने छ’ उनले भने, ‘त्यसका लागि आवश्यक कानून निर्माणमा पनि पत्रकार महासंघको सुझाव जरुरी छ ।’ उनले कर्णालीको बिकासका लागि कर्णालीका सञ्चारमाध्यम सबल बनाउनु पर्नेमा जोड दिए ।
मुख्यमन्त्री शर्माले बिगतमा विभिन्न मिडियामा रहेर आफुले पत्रकारिता गरेको स्मरण गर्दै कर्णालीमा सञ्चार क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले सञ्चार सम्बन्धी कानुन बनाउँदा पत्रकार महासंघलगायतका संस्थाहरुकोे सुझाव र सल्लाह बमोजिम बनाइने बताए ।
नेपाल पत्रकार महासंघ कर्णालीका अध्यक्ष देवीराम देवकोटा नेतृत्वले शुक्रबार मुख्यमन्त्री शर्मालाई भेटर बधाइ दिँदै कर्णालीको सञ्चार क्षेत्रको बिकास र प्रबद्र्धनका लागि अभिभावकीय भुमिका निर्वाह गर्न सुझाव दिएको छ । महासंघका अध्यक्ष देवकोटाले संविधान प्रदत्त अधिकारको उपयोग गर्न, श्रमजीवी पत्रकारका सवाल, सञ्चार सम्बन्धी कानुन निर्माण र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका छन् ।
मुख्यान्त्रीसंगको भेटमा महासंघका उपाध्यक्ष बिमला खड्का, महासचिव खगेन्द्र भट्टराई, सचिव दिपक बुढा र अशोक राजी, कोषाध्यक्ष गणेशकञ्चन भारती, पत्रकार महासंघ कालिकोट अध्यक्ष भरतराज विष्टलगायतले कर्णाली प्रदेशमा सञ्चार क्षेत्रका समस्याबारे मुख्यमन्त्रीलाई अवगत गराएका थिए ।
आशिका भट्टराई । २९ पुष २०७९, शुक्रबार २१:१९